नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले उल्भ्ससँग गोलरहित बराबरी खेलेको हो भने लिभरपुल र टोटेनहमले २-२ गोलको बराबरी खेलेका हुन् ।
उल्भ्सको घरेलु मैदानमा भएको दुबै टोलीले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा बराबरीमा चित्त बुझाउन बाध्य भए । बराबरीसँगै चेल्सी १८ खेलमा ३८ अंक जोड्दै तेस्रो स्थानमा छ भने समान खेलमा २५ अंक जोडेको उल्भ्स १८ औं स्थानमा रहेको छ ।
त्यसैगरी आइतबार राति नै भएको अर्को खेलमा लिभरपुल र टोटेनहमले २-२ को बराबरी खेल्दै अंक बाडेका छन् । टोटेनहमको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १३ औं मिनेटमा टोटेनहमका ह्यारी केनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे । खेलको ६९ औं मिनेटमा लिभरपुलका एन्ड्रयु रोबर्टसनले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । यद्यपि खेलको ७४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप समयमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल २-२ को बराबरीमा सकियो ।
त्यसअघि खेलको ७७ औं मिनेटमा लिभरपुलका रोबर्टसनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै लिभरपुल १८ खेलमा ४१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने समान खेलमा २६ अंक जोडेको टोटेनहम सातौं स्थानमा रहेको छ ।