आफ्नो सन्तान मारेको भन्दै बाँदरले २५० कुकुर मारिदिएपछि…

सन्तानको माया कसलाई हुन्न र, चाहें त्यो मानिस होस् या जनावर नै किन नहोस् । उनीहरु आफ्नो सन्तलाई आफूलाई भन्दा पनि बढी माया गर्छन् ।

त्यस्तै भारतमा अहिले एउटा घटना चर्चित बनेको छ । भारत, महाराष्ट्रको विड जिल्लामा एउटा कुकुरको समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि त्यसको बदलामा बाँदरहरुले उग्र रुप लिएका छन् । आफ्नो बच्चा मारिदिएपछि बाँदरहरु आक्रोशित हुँदै दर्जनौं कुकुर मारिदिएका छन् । भवनको छत तथा रुखका टुप्पामा लगेर बाँदरहरुले कुकुरको हत्या गरिदिएका हुन् ।



विड जिल्लाको मजलगाओन र लभुल गाउँमा बाँदरहरुको एउटा समूहले कुकुर मारिदिएको थियो । बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रुखको टुप्पोबाट खसालेका थिए । कुकुर देख्नेवित्तिकै बाँदरले अग्लो रुखको टुप्पो वा भवनको छतमा लगेर खसालिदिएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार बाँदरले पछिल्लो एक महिनामा मात्र २५० कुकुरलाई अग्लो ठाँउबाट खसालेका छन् ।

बाँदरलाई नियन्त्रणमा लिन स्थानीयले वन विभागका अधिकारी गुहारेका थिए । तर, विभागबाट खटिएका कर्मचारीले बाँदर नियन्त्रण गर्न नसकी फर्किएका थिए । विभागका कर्मचारीहरुले बाँदरलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीयले नै कुकर जोगाउन थालेका छन् । बाँदर देख्ने वित्तिकै उनीहरुले भगाउनेदेखि कुकुरलाई सुरक्षित क्षेत्रमा पठाउन थालेका छन् । – एजेन्सीको सहयोगमा

 

सम्बन्धित समाचार