नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् ।आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् ।
कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुस निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । उनका प्रतिद्धन्द्धी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाएका थिए ।
उनीहरुका बीचमा १२ प्रतिशत मत अन्तर थियो । विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११-१२ मा विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी मुख्य आन्दोलनकारी थिए । त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका थिए।
त्यसैगरी सन् २०१७ मा पनि उनी सवैभन्दा धेरै मतसहित विजयी भएका थिए। अहिले फेरि सरकारबिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो । निर्वाचनका बेलामा आफू निर्वाचित भएमा चिलीमा स्थिर अर्थव्यबस्था अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।