रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेपछि मिलन पाण्डेले दिए यस्तो प्रतिक्रिया

विवेकशील साझा पार्टीको संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरिएको कारबाही अस्वीकार गर्ने बताएका छन् । आज मङ्गलवार पार्टी अध्यक्ष रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई निष्कासित गरेको विज्ञप्तिमार्फत जानकारी दिएका थिए । त्यसकै प्रतिक्रियाका रूपमा पाण्डेले कारबाही अवैध रहेको भन्दै अस्वीकार गर्ने बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मत भिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा त्यो विपरीत ‘पार्टीबाट निष्कासन गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु ।’



यस्तै पाण्डेले पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकीकरण घोषणापत्र माथि लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिह्न र पहिचान प्रयोग गर्ने कुनै अधिकार नभएको बताए । साथै उनले आफूहरू विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिने र पार्टीमा भइरहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्ने बताए ।

सम्बन्धित समाचार