नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍नः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा पुगेर भाषण गर्दै ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । कपिलवस्तुको बहादुरगंजमा मंगलप्रसाद गुप्तासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले देशलाई समृद्धितर्फ लैजाने यात्रा एमालेले सुरू गरेको बताए । मधेसमा नेकपा एमालेको जनलहर देखेर विरोधीहरुलाई जलन भएको उनले टिप्पणी गरे ।

ओलीले भने, ‘केही लोभीपापीका कारण हामी सरकारमा त छैनौं, तर त्यो विधिले होइन जालझेलले हो । यसको फैसला चुनावपछि आउने परिणामले देखाउँछ ।’ आज प्रवेश गरेका हजारौं जनाको संख्याले जनलहर कता गएको छ भन्ने देखाउने उनको भनाइ थियो । मधेशमा एमालेको बढ्दो जनलहरले एमालेविरुद्ध लाग्नेहरूलाई जलन भएको भन्दै उनले आफ्नो कार्यकालमा मधेसमा गरेको विकासको अभियानले यो लहर बढ्दै गएको बताए ।



कपिलवस्तुको उर्बर भूमिलाई सिंचाइ गर्नका लागि रोकिएको नौमुरे परियोजनालाई आफ्नो कार्यकालमा अगाडि बढाएको ओलीले स्मण गरे । ‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन’ ओलीले भने, ‘कपिलवस्तुमा कृषि सिंचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ ।’ कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजनाका साथ अघि बढ्ने बताउँदै उनले हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने उल्लेख गरे ।

सम्बन्धित समाचार