नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका हुन्।
प्रदेशबाट पुरुष खुलामा दुईजना निर्वाचित हुनेमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले छन्। वाग्लेले दुई हजार ७२० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले दुई हजार ३०६ मत ल्याएर विजयी भएका हुन्। चुनावी मैदानमा उत्रिएका सोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९३८ मत ल्याएका छन्। अधिवेशनमा कुल चार हजार ६६४ मत खसेको थियो।
विजयी भएसँगै प्रतिक्रिया दिँदै मुख्यमन्त्री पोखरेलले अहिलेका महाधिवेशनको म्यान्डेट नै युवा पुस्तालाई अगाडि बढाउने रहेकाले युवा पुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अग्रज पुस्ताका अनुभव र सिकाइलाई नयाँ पुस्तामा हस्तान्तरण तथा पुस्तान्तरण गर्न लागिपर्ने बताए।

