नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।

नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनअन्तर्गत आज मतदान हुने कार्यक्रम रहेको छ। अधिवेशनअन्तर्गत हुने निर्वाचनमा नेताहरु प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवाविरुद्ध नेता शेखर कोइराला तथा विमलेन्द्र निधिको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ।
कोइराला–निधिकोपक्षबाट सभापतिमा रामसरोज यादव उम्मेदवारी रहेका छन् भने देउवा पक्षबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव चुनावी मैदानमा छन्। यादव प्रदेश २ मा संसदीय दलका नेता तथा मन्त्री पनि हुन्। निधि पक्षीय यादव धनुषाका पूर्व जिल्ला सभापतिसमेत हुन्।
रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन्। सो प्यानबाट महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी रहेको छ भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, महिलातर्फको सहमहामन्त्रीमा निर्मला सुवेदीको उम्मेदवारी रहेको छ।
कृष्णको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादवतथा महामन्त्रीमा उपेन्द्र यादव र बृहस्पतिकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरी तथा महिलातर्फ रिता यादवले उम्मेदवारी दर्ता गराएका छन्।

