नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।

प्रदेश कांग्रेस २ अधिवेशनअन्तर्गत आजका लागि तय गरिएको मतदान सरेको छ । मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान सारिएको निर्वाचन समितिले जनाएको छ ।निर्वाचन अधिकृत प्रह्लाद गौतमले मतदान भोलि बिहान ८ बजेसम्मका लागि सारिएको जानकारी दिए । सभापतिका उमेदवार कृष्णकुमार यादवकाअनुसार दुवै समूहबीच भोलि बिहानदेखि मतदान गर्ने सहमति भएको छ ।
निर्वाचन समितिले आज दिउँसो १ बजेबाट मतदान गर्ने समय तय गरेको थियो । मतदान समय सार्ने विषयमा विवाद हुँदा निर्वाचनस्थलमा सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षधरबीच कुटाकुट भएको थियो ।
प्रदेश २ मा नेताहरु दुईवटा प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशन जारी रहँदा निधि पक्षले बिहीबामात्रै मतदान गर्नुपर्ने अडान लिएको छ । तर देउवा पक्षले भने बुधबार राति नै मतदान गराउन अडान लिएको थियो । यही विवादले उग्र रुप लिएपछि प्रदेश अधिवेशनमा सहभागी दुवै पक्षका प्रतिनिधिबीच कुटाकुट भएको हो ।

