नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ पुस ।
अफगानिस्तानको तालिबान समूहले काबुल शहरको पसलहरूक ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् ।
काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उद्धृत गरी लेखेको छ ।
सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बाराक्जाईले बताएको समाचारमा उल्लेख गरिएको छ । काबुलमा सौन्दर्य सैलूनका मालिकहरूले इस्लामिक इमिरेटको निर्णयको आलोचना गरे र सरकारलाई उनीहरूको व्यवसायमा प्रतिबन्ध नलगाउन पनि आग्रह गरिएको बताइन्छ ।
सात वर्षदेखि ब्यूटी सैलुनमा काम गरी आफ्नो १० सदस्यीय परिवारलाई आर्थिक सहयोग गरिरहेको र सरकारको निर्णयले आफूलाई आर्थिक तथा व्यवसायिक सङ्कट पर्ने काबुलकी सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताइन् ।