
‘बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले चर्चा कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज सर्वोच्च अदालत गएका छन् । बुधबार चार्ल्सले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
चार्ल्सको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले रिट दिएको सर्वोच्चले जनाएको छ । यसअघि पनि चार्ल्सले आफू ७० वर्ष भएको भन्दै कैद मिनाहाका लागि धेरै निवेदन दिएका छन् । कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ ।
तर, विदेशी नागरिकको हकमा भने यो नियमावलीले केही बोलेको छैन । काठमाडौँ र भक्तपुर जिल्ला अदालतले शोभराजलाई फरकफरक मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो । उनले ४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्या गरेको अभियोग लागेको छ ।

