
बागमती प्रदेशसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध भएको छ । एमालेले हिजो(बुधबार)को बैठक पनि अवरुद्ध गरेको थियो ।
एमालेले मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाएर ८ बाट १४ पुर्याएको तथा विगत सरकारका योजनाहरु कटौती गरेको भन्दै संसद बैठक अवरोध गरेका हुन् । प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका हुन् ।
एमालेले बैठक अवरुद्ध गरेसँगै सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको सूचना पढेर सुनाएका थिए । आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

