
कांग्रेसको १४औँ महाधिवेशनको मैझारो भएको छ । अर्थात् महाधिवेशनमा भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। पदाधिकारीमा मात्रै देउवाको समूहका कुल १३ जनामध्ये आठजना विजयी भएका छन् ।
मतदानको १० दिनपछि विहीबार सबै पदको मतगणना सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए। १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय ९ जना छन्। यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई जना विजयी भएका छन् ।
कांग्रेस विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य बन्छन्। विधानअनुसार अब सभापति देउवाले कोषाध्यक्षसहित ३३ जना मनोनीत गर्न पाउनेछन्। त्यससँगै केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय हुनेछ।
निर्वाचित उम्मेदवारलाई शनिबार प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको समिति सचिव केशव रिजालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। सभापति शेरबहादुर देउवाले पनि आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

