
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले अहिले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेको बताएका छन् ।
आज (शुक्रबार) माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएका छन् ।
‘युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका छन्’, उनले भने । नेकपा मसाल र आफूहरु मूलभूत रुपमा एउटै स्कुलका विद्यार्थी भएको भन्दै प्रचण्ड एकता मजबुद हुने धारणा व्यक्त गरे । त्यस्तै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै पनि हालतमा उल्टिन नदिइने बताए ।
‘अहिले पनि ढुक्क हुने अवस्था छैन, षडयन्त्र जारी छ’, उनले भने, ‘जनता र राष्ट्रका पक्षधर, क्रान्तिकारी शक्तिले एकजुट भएर प्रतिवाद गर्न जरुरी छ।’ इमान्दार कम्युनिष्ट बीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी आन्दोनलको नेतृत्वको भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।कार्यक्रममा नेकपा मसाल (सम्पर्क केन्द्र)का संयोजक लोकेन्द्र लम्सालले वैज्ञानिक समाजवाद स्थापना गर्न आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकताबद्ध भएको बताए ।
यसअघि एमालेसँग गरेको एकता केपी ओलीले सत्तामा पुग्ने भर्याङको रुपमा प्रयोग गर्दा विश्वासघातको रुपमा पुगेको प्रचण्डको भनाइ छ ।जनपक्षीय शक्ति अलगअलग भएर जनताको अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले जनकाङ्क्षा पूरा गर्न माओवादी विचार र नेतृत्वबाट मात्र सम्भव भएकाले आफूहरु एकता प्रक्रियामा आएको उल्लेख गरे ।

