माओवादीमा टिके प्रथा तोडिँदै, महासचिवमा दर्जन बढी नेताको दाबी, कसले मार्ला बाजी ?

नेकपा (माओवादी केन्द्र) ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनको अघिल्लो दिनसम्म आउँदा यसअघि जारी रहेको टिके प्रथाको अन्त्य गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दवाव परेको छ । अध्यक्षमा प्रचण्ड नै निर्विकल्प देखिए पनि अन्य पदाधिकारीमा आकांक्षीहरूको लर्को लागेकोले निर्वाचनमार्फत नै पदाधिकारीको टुङ्गो लगाउने योजनामा प्रचण्ड पुगेका छन् ।

देवप्रसाद गुरूङको संयोजकत्वमा बनेको अन्तरिम विधान संशोधन उपसमितिले पार्टीलाई बहुपदाधिकारीमा लैजाने प्रस्ताव गर्दै उपाध्यक्षसहितका पदमा दुई वा सोभन्दा बढी नेता चयन गर्न नेतृत्वलाई सुझाव दिएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधानमा प्रचण्ड सकारात्मक रहेका छन्, जसअनुसार अध्यक्ष, महासचिव र कोषध्यक्ष एक एक जना र उपाध्यक्ष ३, उपमहाचिव ३ र सचिव ५ जना हुनेछन् । नेताहरूको व्यवस्थापन चुनौतिपूर्ण देखिएकोले पनि बहुपदाधिकारीमा जाने विषयमा माओवादीमा कुनै विवाद छैन ।



महासचिवमा आकाङ्क्षीको लर्को
भावी नेतृत्वको रूपमा हेरिने महासचिव पदमा माओवादीमा पनि विशेष आकर्षण देखिएको छ । आकाङ्क्षीको लर्कोबाट नेतृत्वले एक जना छान्दा अन्य रूष्ठ हुने अवस्था आउने विषयलाई मध्यनजर गर्दै प्रचण्डले अन्य पदमा सहमति कायम गरे पनि महासचिवमा भने निर्वाचन नै गराउने तयारी गरेको स्रोतको दाबी छ । त्यसो त नेतृत्वले नचाहँदा नचाहँदै पनि प्रदेश एक र बागमती प्रदेशनमा निर्वाचनबाट नेतृत्व चुनिएको विषयलाई मध्यनजर गर्दा पनि केन्द्रमा पनि पदाधिकारीको अधिकांश पदमा निर्वाचन नहोला भन्न सकिँदैन ।

हाल पार्टीको संगठन विभाग प्रमुख रहेका जनार्दन शर्मा महासचिवका स्वाभाविक दावेदार हुन् । पार्टीको संगठनमा उनको प्रभाव जबरदस्त छ । पछिल्लो राजनीतिक घटनाक्रममा उनले खेलेको भूमिका र पाएको अवसरलाई हेर्दा प्रचण्डले आफ्नो उत्तराधिकारीको रूपमा पनि शर्मालाई हेरेको देखिन्छ । उत्तराधिकारीको रूपमा अघि सारिएका कृष्णबहादुर महरा यौन काण्डमा फँसेपछि प्रचण्डले शर्मालाई भावी नेतृत्वको रूपमा अघि सार्ने गरेका छन् । नेतृत्वको चाहना र संगठनमा पकटको हिसाबले हेर्दा शर्मा निर्वाचन नै भएको खण्डमा पनि महासचिवमा निर्वाचित हुने सम्भावना बलियो देखिन्छ ।
त्यसैगरी हाल केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका नेता वर्षमान पुनले पनि महासचिवमा दाबी गरिरहेका छन् । प्रचण्डलाई कठिनभन्दा कठिन मोडमा पनि साथ दिँदै आएका पुनको पनि पार्टी संगठनमा राम्रो पकड रहेको छ । भातृ संगठनमा पनि पुनको जबरदस्त उपस्थिति रहेको छ । प्रचण्डको विश्वासपात्र रहेका पुनलाई महासचिव बनाउन पनि प्रचण्ड सकारात्मक नै देखिन्छन् । महासचिवमा शर्मा र पुन जो आए पनि पार्टीलाई राम्रो नै हुने प्रचण्डले आफूनिकटहरूसँग बताउने गरेका छन् । उनीहरू दुईमा एक छान्नु फलामको चिउरा चपाएसरी हुने देखेर नै प्रचण्डले महासचिवमा निर्वाचन गराउन चाहेको माओवादी निकट स्रोतको दाबी छ ।

यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, नेताहरू देव गुरूङ, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत लगायतले पनि आफू महासचिवका लागि योग्य रहेको दावी पेश गरेका छन् । पूर्व महासचिव कृष्णबहादुर महराले पनि महासचिवमा दोहोरिने इच्छा देखाएका छन् । तर प्रचण्ड भने नारायणकाजी श्रेष्ठ, महरा र गुरूङलाई उपाध्यक्षमा व्यवस्थापन गर्ने तयारीमा रहेको बताइन्छ ।।

सम्बन्धित समाचार