नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा सुरु हुँदै छ। पहिले राष्ट्रिय सम्मेलन भनेको माओवादी केन्द्रले अन्तिममा यसैलाई आठौं महाधिवेशनको रूप दिने निर्णय गरेको हो। यसअघि २०५९ माघमा हेटौंडामा माओवादी केन्द्रको सातौं महाधिवेशन भएको थियो।
आज दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन गरिने माओवादी केन्द्रले जनाएको छ। उद्घाटन समारोहमा आतिथ्यका लागि माओवादी केन्द्रले ११ राजनीतक दललाई निमन्त्रणा गरेको छ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत ११ पार्टीलाई निमन्त्रणा गरिएको हो।
यसअघि गत मंसिरमा नेकपा एमालेले आफ्नो १०औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रलाई बोलाए पनि अध्यक्ष प्रचण्ड गएनन्, नेता लीलामणि पोखरेललाई पठाए। अब अहिले माओवादी केन्द्रको महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली आउलान् किन नआउलान्रु चासोको विषय बनेको छ।

