नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।
युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत दोस्रो खेलमा आज (आइतबार) नेपालले श्रीलंकासँग खेल्दैछ । सारजाहमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको नेपाल आज जितको खोजीको साथ मैदान उत्रदैछ। तर, नेपालले श्रीलंकालाई पराजित गर्न भने त्यति सहज छैन । पछिल्लो पाँच भेटमा नेपालले श्रीलंकालाई पराजित गर्न सकेको छैन । अंक जोड्न नसकेको नेपाल समूह ‘बी’ को पुछारमा छ भने २ अंक जोडेको श्रीलंका दोस्रो स्थानमा रहेको छ ।
समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ । समूह ‘ए’ र ‘बी’ बाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।