दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं, सर्लाही र नवलपरासी (पश्चिम)मा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ जडिबुटीमा प्रदेश ०३ -००१ ख २०१७ नम्बरको ट्रकले प्रदेश ०२–०२६ प ८७६६ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका-१६ नयाँबजार बस्ने ६० वर्षीया मथुरा मानन्धरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राष्‍ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाही, ईश्वरपुर नगरपालिका-१२ बाँके जङगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ना.३४ प ७०२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका-७ बस्ने ५७ वर्षीय भिम गुरुङको मृत्यु भएको छ । यसैगरी सर्लाही मलङ्गवा–नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्षीया सैफुल खातुनको मृत्यु भएको छ। बाटो काट्ने क्रममा शनिबार साँझ खातुनलाई साइकलले ठक्कर दिएको थियो ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक लालबन्दी नगरपालिका-३ बस्ने ४२ वर्षीय जितन चौधरीको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको छ । यस्तै नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१ निलोगेटस्थित सडकमा लु.२ ख ४०५५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ बस्ने ३५ वर्षीया कमला रेग्मीको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरेहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार