नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्यत्र आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज राति देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली र तराईंका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको महाशाखाले जनाएको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
