नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।

आमहड्ताल सफल पार्ने नाममा सवारी साधन तोडफोड र ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । सिरहाका प्रहरी प्रमुख एसपी हिरा बहादुर पाडेले गोलबजारबाट ९ जना, मिर्चैयाबाट ४ जना र विष्णुपुरबाट एक जना पक्राउ परेको बताए ।
आमहड्तालको अवज्ञा गरेको भन्दै पूर्व९पश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा ना। ५ ख। ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका थिए । उक्त ट्रकमा आगजनी गर्ने एक जना समेत पक्राउ परेकाले उनीमाथि मुद्दा चलाउने र बाँकीको सवालमा सुरक्षा समितीको बैठकले आवश्यक निर्णय लिने एसपी पाण्डेले बताए ।
औरही गाँउपालिकाले गहुँको बीउ लुटेको भन्दै चार जनामाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आज आमहड्तालको घोषणा गरेको थियो । आमहड्ताल सफल पार्न उक्त पार्टीका कार्यकर्ताहरु राजमार्ग बन्द गराउन केन्द्रित भएका थिए ।
राजमार्ग बन्द गराउन लाठी बोकेर उत्रेका जनमत पार्टीका कार्यकर्ताहरु र प्रहरीबीच मिर्चैया र गोलबजारमा पटक पटक झडप भयो । कतै प्रहरी कुटिए त कतै प्रहरीले जनमतका कार्यकर्तामाथि लाठी बर्षाए । दिनभर तनावग्रस्त बनेको राजमार्ग क्षेत्रको अवस्था साँझपरेपछि सामान्य बनेको छ ।

