नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु राणा आइतबार सुटुक्क नयाँ दिल्ली पुगेको खुलेको छ । राणा आइतबार बिहान ११: ४० को नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली उत्रिएकी हुन्।
प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रमका लागि तयारी गरिरहेका छन् ।
पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा नेपाल, श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका छन्। उक्त भ्रमणको गृहकार्य भने भइरहेको छ। तर परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने यही साता भ्रमण कार्यक्रमको टुंगो लाग्ने बताए।

