माओवादी केन्द्रको बन्दसत्र सुरू

नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । आज (सोमबार) प्रज्ञा भवनमा मध्यान्ह १२ बजेदेखि बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए । सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।



कमलादीस्थित हलमा नै बन्दसत्र आयोजना गरिने भए पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ। राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

 

सम्बन्धित समाचार