नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आज (सोमबार) देखि कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बन्दसत्रमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । उक्त प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई वितरण गरिएको छैन । अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।
बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।

