नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । बैतडी, पुर्चौडी नगरपालिका-२ सिम्चानी बस्ने ५७ वर्षीय धनवीर धानुक सोही ठाउँस्थित समैपज्ने खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै सप्तरी, अग्निसाईर कृष्णसवरण गाउँपालिका-४ टेङग्री टोल नजिक बनियाँ पुलमा तिरहुत गाउँपालिका-३ बस्ने ४० वर्षीय सुरेश सरदार आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सर्लाही, मलंगवा नगरपालिका-१२ स्थित पोखरीमा चक्रघट्टा गाउँपालिका-८ बस्ने ४५ वर्षीय भरोसी राउत आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता कैलाली, गोदावरी नगरपालिका-५ गेटा सामुदायिक वन जङ्गलमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी जाजरकोट, बारेकोट गाउँपालिका- १ बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्का सोही ठाउँ सक्लास्थित लिउरेको जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका-९ सक्ला धौलाकोट बस्ने मर्दबिर महतराको घरमा काठ मिस्त्री काम गर्दै आएका उनी शनिबार बिहान जंगलतर्फ गएकोमा बेलुकासम्म फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलको रुखमा च्यापिएको अवस्थामा उनको शव फेला परेको हो ।
त्यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-६ स्थित रोबो इन्जिनियरिङ सोलुसन प्रालीको कम्पाउण्डभित्र हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रुपन्देही, मायादेवी गाउँपालिका-३ हर्नामपुर बस्ने २३ वर्षीया सविता धोवी आफ्नै घरबाट करिब १ सय मिटर टाढा रहेको खडवा नालाको किनारामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै काभ्रे, पनौती नगरपालिका-५ बाँसघारी बस्ने ३५ वर्षीय इन्द्र बहादुर श्रेष्ठ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काभ्रे, पाँचखाल नगरपालिका-९ स्थित भगवतिथान बस्ने ६० वर्षीय बिष्णु राई आफ्नै घर नजिकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी जुम्ला, चन्दननाथ नगरपालिका-५ बस्ने ५० वर्षीय भिम बहादुर सुनार सोही ठाउँस्थित रविन्द्र होटलमा सुतेकै ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् । उक्त होटलमा सुतेका उनी बिहान अवेरसम्म नउठेपछि गई हेर्दा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
