आज र भोलि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । अपराह्नतिर देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ।



आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। राति पनि देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यो क्रम भोलि पनि जारी रहने छ ।

पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको महाशाखाले जनाएको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार