नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।
बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिला तर्फको उपाधि नेपालले जितेको छ । आज (मंगलबार) बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै च्याम्पियन बनेको हो ।
पहिलो सेटमा २५-२४ ले जितेको नेपालले दोस्रो सेटमा उज्वेकिस्तानसँग २५-२४ ले पराजित हुन पुग्यो । त्यस्तै तेस्रो सेटमा नेपाल २५-१५ ले आफ्नो पक्षमा पार्दा चौथों सेट उज्वेकिस्तानले २५-२२ ले जितेपछि खेल २-२ को अवस्था पुग्यो । तर, अन्तिम तथा निर्णायक सेटमा उज्वेकिस्तानलाई १५-१० ले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।
नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । जितसँगै नेपालले लगातार दोस्रो पटक सेन्ट्रल जोनको महिलातर्फको उपाधि जितेको हो । आजै नेपालले पुरुषतर्फ तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेलिरहेको छ ।