नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गरे मात्र क्रान्ति सफल हुने बताएका छन् ।
आज (मंगलबार) राष्ट्रियसभा गृहमा आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्रान्ति सम्भव हुन विप्लव समूहले विचार र चिन्तन परिवर्तन गर्नुपर्ने बताए । अध्यक्ष नेपालले भने ‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भने–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्, अनि मात्र क्रान्ति सम्भव हुन्छ ।’
त्यस्तै उनले सरकार र राजनीतिक दलहरूले विकासका लागि विनियोजन रकमको विषयमा चासो राख्नु पर्ने भन्दै देशमा सरकार सञ्चालनको कार्यशैली परिवर्तनको खाँचो रहेको बताए ।

