नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच मंगलबार भेटवार्ता भएको छ। स्वास्थ्यका उपचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेको नेता पुनको सचिवालयले जनाएको छ।
उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्वसभामुख ओनसरी घर्ती पनि सहभागी थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा विस्तृत छलफल गरेका हुन्।
‘उहाँहरुले माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो,’ नेता पुनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। सो क्रममा नेपालको समसामयिक राजनीति, वामपन्थीबीचको सहकार्य र एकताका विषयमा कुराकानी भएको थियो।
चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए। थप उपचारका लागि चीन पुगेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्विपक्षीय भेटवार्तामा जुटेका हुन्।

