नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस।
युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १ विकेटले पराजित हुन पुग्यो ।
दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४२ ओभर ३ बलमा अलआउट हुँदै २३९ रनमा समेटियो । नेपालका लागि बसिर अहमेदले ५६ र विवेक मगरले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोहमद आदील आलम ४९ रन बनाई आउट भए भने शेर मल्लले २१ रन बनाए । कुवेतका लागि मिर्जा अहमेद र अब्दुल साकिदले समान ३-३ विकेट लिए भने हेनरी थोमस र मोहमद बासटाकीको भागमा समान २-२ विकेट रह्यो ।
२४० रनको लक्ष्य लिएर मैदान उत्रेको कुवेतले ४८ ओभर ५ बलमा ९ विकेट गुमाउदै पूरा गर्यो । कुवेतका लागि कप्तान मीत भाब्सरले अविजित रहँदै १७५ रनको शतकीय पारी खेले भने जुड साल्दन्हाले २५ रन बनाए । नेपालका लागि गुलशन झाले ३ विकेट लिए भने शेर मल्ल, बसिर अहमेद र विवेक यादवको भागमा समान २-२ विकेट रह्यो । कुवेतसँग पराजित भएसँगै समूह ‘बी’ को नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा रहँदै घर फर्किएको छ । कुवेतले भने सान्त्वना जित निकालेको छ ।
समूह चरणबाटै बाहिरिएको नेपाल पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशसँग १५४ रनले र दोस्रो खेलमा अर्को टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपाल अंक तालिकाको चौथों स्थानमा छ भने कुवेत तेस्रो स्थानमा रहेको छ । यस समूहबाट बंगलादेश र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् ।