
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै अध्यक्ष लिङ्देनले राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा भएको बताए ।
आज (बुधबार)स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे । उनले भने ‘आज पनि म जहाँ जाँदा पनि राजसंस्थाको कुरा गर्दा जनतालाई भन्ने गरेको छु –२०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो । त्यसबेला भन्दा अझ मैले अहिले बढि बुझ्छु । किन, त्यसबेला त थोरै थोरै बुझे । ए, राजा हट्यो, सिक्किम पनि सकियो । एउटा देश पनि समाप्त भो भन्ने मात्रै थियो । तर अहिले यसो हेर्छु । सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ । तर सिक्किम भन्ने देश त छैन ।’
उनले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको भन्दै राजा वीरेन्द्र विदेशीहरूसँग नझुकेपछि देश जोगिएको बताए । उनले राजनीतिक दलका नेताहरुभन्दा राजा बढी देशभक्त हुने तर्क प्रस्तुत गरे । त्यस्तै कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे ।

