ओमिक्रोनको जोखिम उच्च भएको भन्दै डब्ल्यूएचओले दियो यस्तो चेतावनी

विश्व स्वास्थ्य संगठन​ (डब्ल्यूएचओ)ले बुधबार ओमिक्रोनले उच्च जोखिम बनाएको र स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। धेरै देशमा अत्यधिक मात्रामा कोरोना भाइरस ओमिक्रोन स्वरूपले प्रकोप बढेको जनाएको छ। गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ। ओमिक्रोन स्वरूपले नेदरल्याण्ड्स र स्वीजरल्याण्डमा तनाव बढाएको छ। ती देशमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ।

ओमिक्रोनसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको विश्व स्वास्थ्य संगठनले कोभिड १९ साप्ताहिक महामारी अपडेटमा जानकारी दिएको छ।डब्ल्यूएचओले बेलायत, दक्षिण अफ्रिका र डेनमार्कको प्रारम्भिक तथ्याङ्कमा प्रतिव्यक्ति विश्वको तुलनामा सङ्क्रमणको उच्च दर रहेको जनाएको छ।



डेल्टाको तुलनामा ओमिक्रोनका लागि अस्पतालमा भर्ना हुने जोखिम कम भए पनि तर ओमिक्रोनको गम्भीरता बुझ्न थप डाटा आवश्यक रहेको जनाइएको छ।ओमिक्रोनको द्रुत वृद्धिले अझै पनि ठूलो संख्यामा अस्पताल भर्ना हुने, विशेष गरी खोप नभएका समूहमा र स्वास्थ्य प्रणालीमा व्यापक अवरोध ल्याउने जनाइएको छ।

फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च १ लाख ८० हजार नयाँ दैनिक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। युरोपका सबै देशले ओमिक्रोन स्वरूप  नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन्। इटाली, ग्रीस, पोर्चुगल र बेलायत सबैमा उच्च सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका छन्। क्रिसमसका कारण परीक्षणका परिणाम आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ।

सम्बन्धित समाचार