नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

बाँके नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । अस्पतालको क्वाटरमा रातको समयमा मकल बालेर सुतेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका तीन सदस्यको ज्यान गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
ज्यान गुमाउनेमा कालीकोटको खाँडाचक्र नगरपालिका–४ घर भएका धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इप्सन, धर्मप्रसादकी आमा कोकिला र बहिनी कोली भट्टराई रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।
श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । जाडोको समयमा मकल हिटर बारेर सुत्ने क्रममा अक्सिजनको कमी भइ निसास्सिएर ज्यान गुमाउनेको संख्या बढ्दो छ ।
