राष्ट्रपति र प्रधानमन्त्रीले दिए तमू ल्होसारको शुभकामना

प्रचण्डले दिए तमू ल्होसारको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले तमु (गुरुङ) समुदायले मनाउँदै आएको तमू ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् । राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरेकी छन् ।

उनले आज(बिहीबार) तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । ‘मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ,’ सन्देशमा भनिएको छ ।



त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् ।

प्रधानमन्त्री देउवाले आज(बिहीबार) एक शुभकामना सन्देश जारी गर्दै विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख गरेका छन्। ‘नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्,’ सन्देशमा भनिएको छ, ‘यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।’

प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षाेल्लाहपूर्वक मनाउन आग्रह गरेका छन्। उनले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामना पनि गरेका छन् ।

प्रचण्डको शुभकामना
यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताएका छन् ।

नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको उनको भनाइ छ । उनले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश हो, नेपाली समाजको यहि विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश पनि हो, देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ हुन्, यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो ।’

तमु समुदायमा नयाँ वर्षको आगमनको खुसियालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले आफ्नै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने उनको विश्वास छ । उनले यो समुदाय सदियौँदेखि आफ्ना रीति, परम्परा तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको बताएका छन् । उनले यस पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीबीच सहिष्णुता र सद्भावको भावना जागृत होओस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार