नवराज घिमिरे
काठमाडौं, १५ पुस ।
नेकपा माओवादीको आठौं महाधिवेशन प्रज्ञाभवन कमलादी काठमाडौंमा जारी छ । यसअघि एमाले र नेपाली काँग्रेसले आ–आफ्नो महाधिवेशन सम्पन्न गरिसकेका छन् भने यसै मेसोमा नेकपा माओवादी पनि आफ्नो नयाँ नेतृत्व चयनका लागि मैदानमा खडा भएको छ ।
आठौं महाधिवेशनदेखि नेकपा माओवादी पार्टी पनि बहुपधारिकारी संरचनामा जाँदैछ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव पदहरूमा धेरैले दावी गरिरहे पनि अध्यक्षमा पुनः प्रचण्ड नै आउने स्पष्ट छ । पार्टीभित्रबाट अध्यक्ष पदका लागि अरू कसैले दावी गर्ने हिम्मतसम्म गरेको देखिँदैन, बरू अन्य पदहरूमा भने धेरै महत्वकाङ्क्षी रहेको जानकारी बाहिरिएको छ ।
आफूलाई जति सुकै लोकतान्त्रिक भनेर फुर्ती लगाए पनि एमाले, काँग्रेसमा जुन किसिमको मनोरोग देखियो त्यस मनोरोगबाट माओवादी पनि ग्रसित नै देखियो । बरू यस मानेमा राप्रपा अग्रगामी देखियो । एउटा जोश र जाँगर भरिएको युवा नेतृत्वमा आयो भलै एजेण्डा फरक होलान् । राप्रपामा आएको परिवर्तनलाई धेरैले रूचिपूर्वक हेरे र जनताले अरू पार्टीमा पनि त्यस्तै अपेक्षा गरे तर जनताको त्यो अभिलाषा भने पूरा हुने खेखिएन ।
पार्टीभित्रका अध्यक्ष पदका सम्भावित दावेदारहरू अध्यक्षकै एकाधिकार र अहम्का कारण चोइटेर लाखापाखा लाग्दा समेत संस्थापन पक्ष पार्टी टुक्रिएकोमा वा योग्य व्यक्तिहरू अलग्गिएकोमा खिन्न भएको देखिएन बरू अध्यक्षमा आफूलाई निर्विकल्प रूपमा राख्न सकेकोमा आत्मरतिमा रमाएको देखियो । पार्टी राजनीतिमा यो एकदमै डरलाग्दो रोग हो भने नेतृत्वले आफ्नो विकल्प तयार नगर्नु र नमरूञ्जेल आफूलाई नै निर्विकल्प रूपमा प्रस्तुत गर्नु संसदीय व्यवस्थाकै दुर्भाग्य हो । नत्र भने ओली, नेपाल, देउवा, प्रचण्डहरूले आफूलाई अभिभावकीय भूमिकामा सीमित गरेर कार्यकारी पद अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हो ।
जहाँसम्म माओवादी महाधिवेशनको वातावरण छ, यो महाधिवेशन नभएर पार्टीका कार्यकर्ताबीचको भेटघाट कार्यक्रमजस्तो मात्र देखिन्छ । कुनै बेला देशकै ठूलो पार्टी बनेको माओवादी आज साँगुरिँदै एउटा सानो झुण्डमा सीमित हुन आएपुगेको छ । यो अवस्थामा आइपुग्नुमा दोषी को हो भनेर आत्म समीक्षा कहिले गर्ने ? देशकै गौरवशाली पार्टीको महाधिवेशनमा १६६१ जना मात्र उपस्थित हुनु आफैंमा लज्जाको विषय हो । पार्टीले आफूलाई समयसापेक्ष रूपमा सुधार नगर्ने हो भने सधैं जनताले साथ दिँदैनन् । हिजो जुन विश्वासमा माओवादीलाई जनताले सत्तामा पुर्याएका थिए, उनीहरूको बोली र व्यवहारका बीच तादात्य नमिल्दाको अवस्था हो यो । केही सीमित व्यक्तिहरूले मात्र सत्ताको लाभ लिएको र लाखौं कार्यकर्तालाई बेवास्ता गरेका कारण माओवादी यस अवस्थामा आइपुगेको हो भन्न अप्ठ्यारो मान्नु पर्ने केही छैन ।
माओवादीको यस अवस्थाबाट अरू पार्टीहरूले पनि पाठ सिक्न जरूरी छ । मिठा नारा दिएर केही समय जनतालाई झुक्याउन सकिएला तर सधैंका लागि लाटा बनाउन सकिँदैन । अब जनता पनि सचेत बनिसकेका छन् । उनीहरू पनि कान कोट्याएको हो कि रगत चुसेको हो भन्ने भिन्नता थाहा पाउन सक्ने बनिसकेका छन् । देशमा केही मुठ्टीभरलाई मात्र समृद्धि आएर भएन, जनताले पनि परिवर्तन थाहा पाउनुपर्यो, उनीहरूले पनि आफूले गरेको त्यागको अनुभूति गर्न पाउनुपर्यो । नत्र सिंहदरबारभित्र को पस्यो र को बाहिरियोे ? त्यसले आम जनतालाई कुनै तात्विक अन्तर पार्दैन ।
क्रान्तिकारी नारा लगाउन जति सजिलो हुन्छ, ती नाराहरूलाई व्यवहारमा रूपान्तरण गर्न त्यत्ति नै गाह्रो हुन्छ । नाराले मात्र हुने भए नेपाल धेरै अगाडि समृद्ध बनिसक्थ्यो, अर्को सिङ्गापुर बनिसक्थ्यो । आकर्षक नारा र क्रान्तिकारी भाषाण गरेर प्रचण्ड जनमत प्राप्त गरेर कुनै बेला सत्ताको बागडोर सँभाल्न पुगेका प्रचण्ड अहिले कार्यकर्ता सिला खोज्नुपर्ने ठाउँमा पुगेका छन् । देश चुनावको संघारमा उभिएको छ । यस अवस्थामा जनताका सामु मुख नछोपी जान सक्ने वातावरण निर्माण गर्नु पनि प्रचण्डकै दायित्व हो । विगतलाई निर्मम समीक्षा गर्दै नयाँ जोश र जाँगरसहित अगाडि बड्न माओवादीलाई यस महाधिवेशनले अपूर्व ऊर्जा प्रदान् गर्न सकोस् र भिन्न मतहरूलाई पनि समेट्तै कार्यकर्ताहरूमा ‘माओवादी रूपान्तरित हुँदै छ’ भन्ने सन्देश प्रवाह गर्न समर्थ होस्, महाधिवेशनको सफलताको शुभकामना !