प्रचण्डको प्रतिवेदनमाथि बाँकी समूहले सुझाव प्रस्तुत गर्ने क्रम सुरु

नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् ।

काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा भइरहेको बन्द सत्रमा हिजो ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएका हुन् । आज बाँकी १४ समूहले निष्कर्ष सुनाउने क्रम सुरु भएको छ । काठमाडौंमा चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा विभिन्न २५ वटा समूह बनाएर छलफल थालिएको थियो । हिजो सुझाव तथा निष्कर्ष राख्दै प्रतिनिधिले नेपाली समाजवादी क्रान्तिका आधारहरु के–के हुन् भन्ने बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।



पलायन भएको युवा जनशक्ति नेपाल फर्काएर समाजवादी आन्दोलन अगाडि बढाउने स्पष्ट खाका नआएको टिप्पणी गरेका छन् । एमसीसी लगायतका सबैखाले सम्झौता खारेज गर्ने नीति महाधिवेशनले लिनुपर्नेमा पनि प्रतिनिधिको जोड छ । छलफलमा उठेको प्रश्नको अध्यक्षले जवाफ दिएपछि मात्र केन्द्रीय समिति चयन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । पदाधिकारीमा भने सहमति नजुटेकोले पछि चयन हुन सक्ने बताइएको छ ।

बन्दसत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ । टोली नेताले आफ्नो समूहको धारणा राख्न र छलफलका क्रममा उठेका विषयलाई लिखितरुपमा पनि प्रस्तुत गर्न निर्देशन दिइएको छ । बन्दसत्रमा नेता राम कार्कीले पनि पूरक प्रतिवेदन पेश गरेका थिए । गत आइतबारबाट सुरु भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

सम्बन्धित समाचार