
नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरुको वरीयता तय भएको छ। नयाँ सूचीमा चौधौं महाधिवेशनबाट निर्वाचित १३४ जना र स्वतः केन्द्रीय सदस्य हुने शेखर कोइरालको नाम छ। पहिलो नम्बरमा सभापति शेरबहादुर देउवा छन्। दोस्रो र तेस्रो नम्बरमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ छन्। चौंथो र पाँचौं नम्बरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन्।
त्यसपछि सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे, जीवन परियार छन्। सहमहामन्त्रीको सूचीपछि केन्द्रीय सदस्यहरुको वरीयता सुरु हुन्छ। जहाँ यसअघि नै पदाधिकारी रहेकाहरुलाई प्राथमिकता दिइएको छ।
चौधौं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धी भई दोस्रो उच्च मत ल्याएका शेखर कोइराला छन्। उनी बीसौं नम्बरमा छन्। शेखरभन्दा अघि सुनिल थापाको वरीयता छ। केन्द्रीय कार्यसमितिमा ३३ जना मनोनित गर्न बाँकी छ। उनीहरु माथिल्लो वरीयतामा रहने भएमा कतिपयको वरीयता अझ तल पुग्न सक्छ।

