नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।

कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज (शुक्रबार) रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिए पनि मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलास परेको निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको सर्वोच्चले जानकारी दिएको छ । २७ चैत २०६४ मा रौतहटमा आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा थुनामा रहेका छन् ।
जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने भन्ने आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिएको थियो ।

