नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।

माओवादी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । चार दिन लामो छलफलमा २५ वटा समूहले प्रतिवेदनउपर सुझाव दिएका थिए । प्राप्त सुझावमा जवाफ दिने क्रममा प्रचण्डले सबैको भावना समेटेर दस्तावेजलाई परिपक्व बनाउने वाचा गरेका छन् ।
प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमाथि कडा आलोचना र टिप्पणी भएपछि अब देशमा हुने निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा पनि गरे । उनले जवाफ दिने क्रममा नेता राम कार्कीले पेश गरेकोे पुरक प्रस्तावलाई पनि आफ्नो मूल दस्तावेजमा समेटेर लैजाने वाचा गरे भने लेखनाथ न्यौपानेको भिन्न मतलाई पनि स्वीकार गरेर आवश्यकता अनुसार पार्टी संगठनमा बहसमा लैजाने बताए ।
प्रचण्डको राजनीतिक प्रस्ताव पारित भएसँगै अब माओवादी शुक्रबारदेखि नै नयाँ नेतृत्व चयन प्रक्रियामा जाने भएको छ । विधानअनुसार महाधिवेशन प्रतिनिधिले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । त्यो केन्द्रीय समितिले बल्ल अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ । शनिबार बिहान ११ बजे सुरु हुने बन्दसत्रमा विधानमाथि नेता देव गुरुङले जवाफ दिने र पारित गर्ने तयारी रहेको बताइएको छ ।

