नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ पुस ।

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत आज बन्दसत्र स्थगित भएको छ । बन्दसत्र स्थगित भएसँगै आजका लागि तय भएको निर्वाचन कार्यतालिका स्थगित भएको छ । भोलि फेरि १ बजेबाट निर्वाचन प्रक्रिया पुनः सुरु हुने बताइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु भएको थियो । केन्द्रीय समिति सहमतिबाट निर्माण गर्न कलस्टर अनुसार सहमतिका लागि साँझसम्मको समय दिइएको थियो । छलफल अझै जारी रहेकोले आजको प्रक्रिया स्थगित गरिएको हो ।
प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन समेत गरिसकेको थियो । भोलि दिउँसो १ बजेसम्मको समयमा सहमति जुट्न नसके निर्वाचनबाट नै समिति चयन गरिने माओवादीले जानकारी दिएको छ ।

