नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।
मुक्तिनाथ विकास बैंकले १५ औं वर्ष पार गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । बैंकले प्रदेश नं ०१ मा ४ वटा, प्रदेश नं ०२ मा ५ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुद्धरपश्चिम प्रदेशमा ३ वटा शाखा कार्यालयहरूको औपचारीक समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । समारोहमा बैंकका वर्तमान सञ्चालकहरू, पूर्व सञ्चालकहरू, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरू, शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।
यस अवसरमा बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरूमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू गरेको छ, जसमध्ये, विद्यालयमा स्टेशनरीका सामाग्रीहरू तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरूमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताका कार्यक्रम, विद्यार्थीहरूलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ । यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरूले वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौंको केन्द्रीय कार्यालय, कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका जनाइएको छ ।