माओवादी केन्द्रमा महासचिव चयन थप जटिल बन्दै, वर्षमानको एक कल फोनले तर्सिए प्रचण्ड, विप्लवलाई ल्याउन चीनको दवाव !

माओवादी केन्द्रको आठौं महाधिवेशनमा पनि टिके प्रथाले निरन्तरता पायो । यही प्रथाअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम पढेर सुनाए । सहभागी प्रतिनिधिहरूले पर्र्र ताली पड्काएर समर्थन गरे । प्रचण्डले छानेका तिनै केन्द्रीय सदस्यहरूले उसै गरी ताली पिटेर उनै प्रचण्डलाई पार्टीको अध्यक्ष बनाए । बाँकी पदाधिकारी पछि छान्ने गरी महाधिवेशन सकियो । तर यो टिके प्रथाको साइडइफेक्ट माओवादीमा अब देखिने निश्चित छ ।

त्यसो त सोमबारको केन्द्रीय कमिटी बैठकमैं पदाधिकारीको पनि टुङ्गो लगाउने तयारी थियो । नारायणकाजी श्रेष्ठलाई दोस्रो वरीयतासहित वरिष्ठ उपाध्यक्ष, कृष्णबहादुर महरालाई तेस्रो वरीयतासहित उपाध्यक्ष र जनार्दश शर्मालाई महासचिव बनाउने तयारीमा प्रचण्ड थिए तर आन्तरिक तयारी गरिरहेकै बेला दिउँसो चीनमा उपचाररत नेता वर्षमान पुनले प्रचण्डसँग फोन वार्ता गरे । जुन फोनले एकाएक माओवादीको पदाधिकारी चयन प्रक्रियालाई रोकिदियो । त्यसपछि प्रचण्डले ‘हाललाई अध्यक्ष मात्र चयन गरौं, बाँकी पदाधिकारीहरू पछि चयन गर्नुपर्ने भयो’ भन्दै वर्षमानको फोनवार्ताको सविस्तार शीर्ष नेताहरूलाई सुनाए ।



वर्षमानले प्रचण्डसँग जनार्दनलाई महासचिव बनाउने विषय आफूलाई स्वीकार्य नहुने बताए । प्रतिस्पर्धीको रूपमा रहेका उनले जनार्दनलाई ‘स्वीकार्दिन’ भन्नुलाई प्रचण्डले स्वाभाविक रूपमा लिए र उनलाई सम्झाउने प्रयास गरे । तर पुनले शर्मा आफूलाई मात्र नभएर चीनलाई पनि स्वीकार्य नरहेको भन्दै प्रचण्डको बोली मात्र होइन, हात खुट्टा नै बाध्ने काम गरे । त्यसपछि प्रचण्डले ‘तपाई नेपाल आउनुस् अनि अरू प्रक्रिया अगाडि बढाउँला’ भनेर फोन राखेको स्रोतको भनाइ छ ।

पुनले फोनमै महासचिवको रूपमा शर्मालाई भन्दा शक्ति बस्नेतलाई अघि सार्न पनि प्रचण्डलाई सुझाव दिएका थिए । तर प्रचण्डले शर्मा नभए देव गुरूङलाई अघि सार्न सकिने बताए । गुरूङप्रति पनि चीन सकारात्मक नरहेको बताएपछि प्रचण्डले तत्काललाई पदाधिकारी चयन नै स्थगित गरेका थिए ।

के चाहन्छ चीन ?
नेपालमा कम्युनिस्टहरू एकजुट होउन् र शक्ति आर्जन गरून् भन्ने चीनको सद्भाव रहँदै आएको छ । यसअघि पनि चीनकै सद्भाव र पहलका कारण नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । तत्काल उनीहरूबीच पुनः एकता गराउन सम्भव नदेखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा माओवादी घटकहरूदलाई एक ठाउँमा ल्याउन चाहेको छ । वर्षमान चीनमा रहँदा भएका विभिन्न भेटघाटमा पनि चीनले पार्टी एकतामा पटक पटक जोड दिइरहेको थियो ।

नेपालमा महाधिवेशन चलिरहेको बेलामा सोही पार्टीका प्रभावशाली नेतामार्फत् चीनले पार्टी एकतालाई जिवित राख्न प्रचण्डलाई दवाव दिइरहेको थियो । साथै महासचिव चयनमा भएको खिचातानी बारे पनि चीन जानकार थियो । त्यसैले चीनले यही मेसोमा विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्न र महासचिवमा विप्लवलाई नै अगाडि सार्न दववा दिएको बताइन्छ । नेता महरामार्फत महाधिवेशन अघि पनि विप्लवसँग पार्टी एकताको वातावरण बनाउन पनि चीनले दवाव दिँदै आएको स्रोतको दाबी छ ।

यता प्रचण्ड पनि विप्लवसँग पार्टी एकता गर्न र उनै विप्लवलाई महासचिव बनाउन सकारात्मक छन् । महरा पनि आफूभन्दा जुनियरहरूलाई महासचिव बनाउनभन्दा सिनियर र सम्भावना बोकेका विप्लवलाई महासचिव बनाउन सके आफू पार्टीमा थप शक्तिशाली हुने बुझाइमा छन् । तर महासचिवका दाबेदार रहेका शर्मा र पुन नै विप्लवप्रति अनुदार मानिन्छन् । त्यसैले पुनले त प्रचण्डलाई तत्काल विप्लवलाई ल्याउने वातावरण नबनेकोले आफूमा सहमति नजुटे बस्नेतलाई अघि सार्न सुझाव दिएका थिए ।

नेताहरूको हानथाप र वैदेशिक शक्तिको दवावका कारण माओवादीको पदाधिकारी चयन थप अनिश्चित बनेको छ । प्रचण्ड र चीनको आग्रहबमोजिम महराले आजै विप्लवसँग थप वार्ता गर्न चाहेको बताइन्छ । तत्काल विप्लवलाई समेट्न सम्भव नभएमा देव गुरूङलाई महासचिव बनाउने मनासायमा प्रचण्ड पुगेको बताइन्छ ।।

सम्बन्धित समाचार