नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

हिमपात–वर्षा गराउने मौसम प्रणाली नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली मंगलबार राति प्रवेश गरेको हो। यो पश्चिमबाट क्रमशः पूर्व सर्दै देशभर फैलिने उनले जानकारी दिए।
यसबारे मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर जानकारी दिइसकेको छ। बुलेटिनअनुसार उक्त मौसम प्रणाली शनिबारसम्म देशभर फैलिने सम्भावना छ। महाशाखाद्वारा आज बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले देशका अधिकांश स्थानमा मौसम आंशिक र सामान्य बदली छ।
आज दिउँसो भने देशभर सामान्य बदली रहनेछ। साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ साथै यी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा पनि हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
यस्तै राति पनि देशभर सामान्य बदली रहनेछ। अनि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सम्भावना छ भने यीनै प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बुलेटिनमा जानकारी दिइएको छ।
