नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले चर्चा कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आज(बुधबार)का लागि पेसी तोकिए पनि उनको मुद्दा ‘हेर्न नामिल्ने’मा परेको हो । गत पुस ७ गते चार्ल्सले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै उनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
चार्ल्सको मुद्दा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो । यस अघि उनको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो । शोभराजको मुद्दामा न्यायाधीश सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका थिए ।
उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले रिट दिएको सर्वोच्चले जनाएको छ । यसअघि पनि चार्ल्सले आफू ७० वर्ष भएको भन्दै कैद मिनाहाका लागि धेरै निवेदन दिएका छन् । कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ ।
तर, विदेशी नागरिकको हकमा भने यो नियमावलीले केही बोलेको छैन । काठमाडौँ र भक्तपुर जिल्ला अदालतले शोभराजलाई फरकफरक मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो । उनले ४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्या गरेको अभियोग लागेको छ ।

