नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

प्रहरी उपरिक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा उनलाई हिजो (मंगलबार) राति निलम्बन गरिएको हो ।
एसपी पाण्डेलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निलम्बन गरेका हुन् । नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोपमा उनलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ । उनले यादवलाई मध्यरात घरमै पुगेर गोली हान्ने धम्की दिएको आरोप लागेको छ ।
गत ११ कात्तिकमा किसन धामीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई छुटाउन यादवले दबाब दिएको र आफूले नमानेपछि गृहमन्त्रीसँग साँठगाँठ गरी सरुवा गराएको एसपी पाण्डेले आफूनिकटहरूलाई बताएका छन् । पाण्डे गत ८ असारमा सिराहाको प्रहरी प्रमुखमा सरुवा भएका थिए । यस विषयमा २ नं. प्रदेश प्रहरी कार्यालयले छानबीन गर्दै आएको थियो ।

