नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पुर्याई बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया तामाङलाई पुस ९ गते प्रहरीले पक्राउ गरेको छ ।
उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पुर्याएर बेचेको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। फूलमायाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई २०७४ साउनमा काठमाडौं आकाशेधारास्थित होटलमा लगि चाउमिनमा बेहोस हुने औषधी मिलाई खुवाएको र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पुर्याएको पीडितको बयान छ ।
उनले पीडितका दिदीबहिनीलाई नै यसरी पुर्याएको पनि खुल्न आएको छ। उनीहरुलाई छट्टाछुट्टै कोठीमा पुर्याएर बिक्री गरेको ब्यूरोको दाबी छ। भारतको कोठी सञ्चालकले उनलाई रु तीन लाखमा किनेको भनी यौन कार्यमा लगाएका पीडितको जाहेरीमा उल्लेख छ। उनीहरुलाई भारतको मुम्बई, कोलकाता, बिहारलगायत विभिन्न क्षेत्रमा पुर्याएर वेश्यावृत्तिमा लगाएको पाइएको छ ।
एक दिन बजारमा खाजा लिन पठाएको मौका पारेर उनी त्यहाँबाट भाग्न सफल भएको अवस्थामा भारतीय प्रहरीले सुरक्षितको सहायतामा त्यहाँबाट नेपाली राजदूतावास तथा विश्व सेवा संस्थाको सहयोगमा गत असोजमा नेपाल फर्कन सफल भएको पीडितको भनाइ छ । पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १० कपनबाट तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।
