पुस २७ गते सार्वजनिक बिदा

तनहुँको ऋषिङ गाउँपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो (बुधबार) बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिकाले खुला, महिला र स्थानीयका लागि म्याराथन गर्दैछ । म्याराथनका लागि विभिन्न ठाउँमा १६ वटा गेट निर्माण गरिनेछ र प्रत्येक गेटमा चेक प्वाइन्ट राखिनेछ ।



खुला म्याराथन ४२.२ किमि दूरीको हुनेछ भने स्थानीयतर्फ १० किमि दूरी दौड र महिलातर्फ चार किमि दूरी दौड हुनेछ । खुलातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने तीन जनालाई रु दश हजार पुरस्कार प्रदान गरिनेछ । स्थानीयतर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १० हजार, तृतीय हुनेलाई रु ६ हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ । सोही दिन ऋषिङ–३ मा निर्माण भएको अतिथि भवनको कांग्रेस नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार