नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउने विवादित विषयमा छानबिन गर्न समिति गठन भएको छ । आज (बिहीबार) संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउने विवादित विषयमा छानबिन गर्न समिति गठन गरेका हुन् ।
मन्त्री आलेले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेका छन् । समितिमा लुइँटेलसहित मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् ।
त्यस्तै समितिलाई तीन दिनभित्र सबै विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको मन्त्री आलेको स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । मन्त्रालयबाट आफ्नो नेतृत्वमा समिति गठन भएको पत्र प्राप्त भएको भन्दै लुइँटेलले ३ दिनभित्र समितिले प्रतिवेदन बुझाउने जानकारी दिए । बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नारायणहिटी दरबार संग्रहालय हाताभित्रै रेस्टुरेन्ट बनाउने निर्णय गरेको थियो । तर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्र रेष्टुरेन्ट बनाउने योजनामा रोक लगाएको छ ।

