नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।
भारतमा कोरोना संक्रमण दर तीव्र भइरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा पछिल्ला १० दिनमा २० गुणा कोरोना संक्रमितको संख्या बढेको छ।
२८ डिसेम्बरमा एक दिन ६ हजार जनामा संक्रमण पुष्टि भएकोमा अहिले दिनकै एक लाखभन्दा बढीमा संक्रमण पुष्टि हुन थालेको छ। मुम्बई, दिल्ली र उत्तर प्रदेशमा संक्रमण दर तीव्र भइरहेको छ।
महाराष्ट्रमा पछिल्ला ४ दिनमा ३ सय ३८ डाक्टरमा संक्रमण पाइएको छ। मुम्बईमा मात्र पछिल्लो २४ घण्टामा २० हजार १ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ३३।६ प्रतिशतले संक्रमण बढिरहेको छ।