नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ पुस ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पुस २५ गते बस्ने भनिएको बैठक माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो ।
पार्टी केन्द्रीय कार्यालय कर्मचारी र केहि केन्द्रीय सदस्यहरुमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । ढकालले भने, ‘केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरियो । ‘
त्यस्तै ढकालले संक्रमणको जोखिम बढेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गराएको जानकारी दिए । यही पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । यही पुस २५ गते बस्ने केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी चयन गर्ने तयारी गरेको थियो ।
यसअघि यही पुस १९ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा दाहाललाई निर्विरोध निर्वाचित गरेको थियो । माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ ।

