बढी संक्रमण भएका ठाउँका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढीजसो फैलिएका ठाउँका विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन थाल्न आग्रह गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो।

मन्त्रालयका प्रवक्ता डा‍ संगीता कौशल मिश्रले उच्‍च जोखिम भएका ठाउँमा बन्द गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘केही दिनदेखि कोभिड बिरामी बढेका छन्,त्यसैले जोखिम भएका ठाउँमा स्मार्ट लकडाउनको अवधारणामा स्थानीय तहले विद्यालय बन्द गर्नुपर्छ, यही हाम्रो आग्रह हो।’



कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ‘स्मार्ट लकडाउन’सम्बन्धी कार्यविधि ल्याएको छ। जसमा कोभिडको अवस्थाअनुसार स्थान विशेषलाई विभिन्न चारस्तरमा वर्गीकरण गरी अलग रङबाट अवस्थाको चित्रण गरिने व्यवस्था गरेको छ।

पछिल्लो समय नेपाल पुनः कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। हिजो बिहीबारको तुलनामा शुक्रबार झण्डै दोब्बर मानिसमा संक्रमण पुष्टि भएको छ।त्यस्तै, नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार