नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।

माओवादी केन्द्रको महाधिवेशनमा सहभागी सयभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको पाइएको छ । प्रतिनिधहरूले धमाधम कोरोना भएको सूचना पोष्ट गरिहेकाले संक्रमितहरूको संख्या सयबाट बढ्न सक्ने देखिएको छ। पुस ११ देखि १८ गतेसम्म चलेको माओवादी केन्द्रको आठौँ महाधिवेशनमा सहभागी १७ सय ४२ प्रतिनिधिमध्ये झण्डै सय जनाले अहिले कोरोना जस्तै लक्षण सहित बिरामी भएको भन्दै सामाजिक संजालमा सूचना राखेका छन्।
‘कोरोना पल्कियो जस्तो छ, आक्रमणमा तेस्रोपटक परियो, साथसंगतका साथीहरु सचेत रहनुहोला’, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ले शुक्रबार साँझ फेसबुक स्टाटस राख्दै भने। उनी मात्र होइनन्, माओवादीको केन्द्रीय समितिमा नवनिर्वाचित सदस्य लालकुमारी पुन, बुद्धि जिसि, डोरप्रसाद उपाध्याय, सुबोध श्रीपाली लगायतलाई कोरोना भएकोले सम्पर्कमा रहेकालाई सतर्क रहन आग्रह गरिएको छ।
माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह, महासचिव तथा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, गोपाल शर्मा, महाधिवेशन प्रतिनिधि देविप्रसाद ढकाल लगायतले कोरोना जस्तै लक्षणले बिरामी भएको सन्देश राखेका छन्।
नेता हरिबोल गजुरेल पनि सन्चो नभएको भन्दै आराम गरिरहेका छन्। नेत्री गंगा पराजुली अस्पताल भर्ना भएकी छन्। यस्तै वाइसीएलका चितवन नेता अविरल पोखरेल पनि अस्पताल भर्ना भएका छन्। उर्जा मन्त्री पम्फा भुसालको सचिवालयमा कार्यरत मदनकुमार गौतम, विद्यार्थी नेता पवन कार्की, वाइसीएलका संयोजक सुमन देवकोटा, बागमती प्रदेश इन्चार्ज प्रकाशचन्द्र पाण्डे, नेता धनप्रसाद मैनाली पनि बिरामी छन्।
माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। केन्द्रीय कार्यालयको क्यान्टिन, लेखामा काम गर्ने सबैलाई कोरोना संक्रमण देखिएको छ।

